सेनाद्वारा प्रदेश नं. २ मा बाटो मर्मत
सेनाद्वारा प्रदेश नं. २ मा बाटो मर्मत
नेपाली सेनाले अघिल्लो महिनामा परेको अविरल वर्षापछि प्रदेश २ मा क्षतिग्रस्त सडक, कलभर्ट तथा बाटो मर्मत गरेको छ ।
२ असोजको निर्वाचनलाई लक्षित गरी सर्वसाधारणलाई मतदान केन्द्रसम्म पुग्ने पहुँच मार्ग तथा सडक सुचारु गर्न स्थानीय तहसँग सहकार्य गरेर मर्मत जारी राखेको सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिक टोलीले सप्तरीको राजविराज स्थित डुम्री–राजदेवी तथा बिरौल–डुम्री–शिवथान–देउरी सडक खण्डका विभिन्न स्थानका क्षतिग्रस्त सडकमा परेका खाल्टामा माटो तथा गिट्टी भरेर सवारीसाधन सुचारु गराएको छ ।
सेनाले सप्तरीकै भारदह–पोर्ताह–मयनकडरी–बग्धुवा सडक खण्डमा बाढीद्वारा कटान भएको सडक मर्मतसमेत सम्पन्न गरेको छ । सोही सडक खण्डको हनुमान्नगर कंकालिनीमा २८ मिटर कटान भई ६ फिट गहिरो खाल्डो परी पूर्ण क्षति भएको सडकमा माटो तथा गिट्टी भरी मर्मत सम्पन्न गरेको पनि सेनाले जनाएको छ ।
सेनाले सिराहा नगपालिका ९ गुलेरिया, विष्णुपुर, राजपुर, गोलबजार बेतुना गुर्धाम र भगवानपुर इलाकाको क्षतिग्रस्त सडक खण्डमा बालुवा तथा माटो भरेको छ । अब सर्वसाधारणलाई मतदान केन्द्रसम्म पुग्न कुनै कठिनाइ नभएको सेनाले जनाएको छ ।
शुक्रबार सेनाको पूर्वी पृतनापति उपरथी गौरव तण्डुकारले सप्तरी र सिराहाका सडक तथा पहुँच मार्ग मर्मतको निरीक्षण गरेका थिए ।
सैनिक टोलीले बाराको कलैया उपमहानगरपालिका १६, १७, २३ र ब्रन्हपुरीमा क्षतिग्रस्त ३ किमि कच्ची सडक खण्डमा माटो तथा ढुंगा भरेको छ ।
पर्साको मसिहानी, लक्ष्मीपुर, पसैनी, जगन्नाथपुर, श्रीपुर तथा रंगपुर इलाकामा बाढीले क्षति पु¥याएको कच्ची सडक मर्मतसमेत गरेको छ । रौतहटको राजपुर न.पा. २ फतुवा महेशपुर इलाकाको २१५ मिटर कच्ची सडक खण्डमा माटो भरी सुचारु गराएको छ ।
सेनाले धनुषाको मिथिला बिहार न.पा. ५ इलाकाको क्षतिग्रस्त सडकमा माटो तथा गिट्टी भरेर सुचारु गरेको छ । महोत्तरी न.पा.२ स्थित अनौठा इलाकाको कच्ची सडकमा पनि माटो भरेको छ ।
सर्लाहीको मलंगवा न.पा. भाटसर, खुटौना इलाकामा क्षतिग्रस्त सडक मर्मत तथा बलरा बजार र भन्सारटोल इलाकाको १ किमि कच्ची बाटोमा ग्राभेल गरी सवारीसाधन आवतजावत सुचारु गराएको पनि सेनाले जनाएको छ ।
Comments
Post a Comment