चरा लखेट्ने प्रवृत्ति, नेपाली समाज र साम्प्रदायिक भड्काउ

डा. राजेन्द्र प्रसाद विमलवारे विदुर जीको विचार

विगत १९ वर्षदेखि नेपाली साहित्यको अनवरत सेवा गरिरहेको वनिता प्रकाशन तथा वनिता सहित्यिक पारिवरिक त्रैमासिकको १९ वार्षिकोत्सवको शुभ अवसरमा साहित्य, कला तथा समाज सेवामा योगदान पुर्याउनुहुने व्यक्तित्वहरूलाई सम्मानित तथा पुरस्कृत गर्ने क्रममा डा. राजेन्द्र प्रसाद विमललाई "भद्रकुमारी-प्रा. डा. उषा ठाकुर भाषा विशेष वनिता सम्मान \ पुरस्कार -२०७३" द्वारा सम्मानित\पुरस्कृत गरिएको थियो ।

समाचार संकलनका क्रममा म पनि त्यहाँ पुगेको हुनाले पूर्वप्राध्यापक तथा वरिष्ठ साहित्यसाधक डा. विमलसँग भेट हुने अवसर मिलेको थियो । खाजा खाने समयमा उहाँलाई भेटेर केही कुरा बताउन र सोध्न मन लागेको हुनाले भेटेँ पनि । अत्यन्त सरल तर शालिन व्यक्तित्वका धनी डा. विमलले त्यो छोटो भेटमै पनि नेपाली भाषा साहित्य र नेपाल देशको बारेमा जति चिन्ता फिक्री र एकताको खाँचो औँल्याउनुभयो, त्यो सुनेर ममा उहाँप्रति आदर अझ बढेर गयो ।

जनकपुरमा आधार बनाउनुभएका डा. राजेन्द्र विमलले नेपाली भाषा र साहित्यमा अहम् योगदान पुर्याउनुभएको छ । प्राध्यापन पेशामा चार दशक बिताउनुभएका उहाँ नेपाली साथै मैथिलीमा पनि उत्तिकै दक्षतासाथ कलम चलाउन सक्नुहुन्छ । नेपालीमा उहाँका ‘राजेन्द्र विमलका कथाहरू,’ ‘खहरेको तिर्खा’ (उपन्यास), ‘मिथिलाको इतिहास, संस्कृति र कला परम्परा,’ ‘गद्य, पद्य र नाटक’ (समालोचना), ‘फिस्टी रानी’ (बाल साहित्य) आदि प्रकाशित छन् भने मैथिलीमा चाहिँ कथासंग्रहहरू ‘इतिहासक घाओ,’ ‘पचास वर्ष मैथिली कथा’ र ‘ई हमरे कथा थिक,’ गजलसंग्रह ‘सूर्यास्तसँ पहिने,’ नाटकहरू ‘सीता’, ‘नौटंकी चलिरहल अछि’, ‘दोहाइ बाबा भुँइयाँ’ जस्ता कृति प्रकाशित छन् । उहाँको योगदानको कदर गर्दै उहाँलाइ जगदम्बाश्री पुरस्कार, साझा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, विद्यापति पुरस्कार, गोपालप्रसाद रिमाल सम्मान, कुलचन्द्र कोइराला सम्मान, मिथिला विभूति, वैद्यनाथ सियादेवी पुरस्कारद्रवारा सम्मान गरिएकत्र छ । उहाँको पछिल्लो कथासंग्रह ‘समयका आँखा’ हो ।

मैले आईएमै अध्ययनरत रहँदा उहाँले नेपाली भाषा, व्याकारण र पाठ्यक्रममा आधारित रहेर लेख्नुभएको कृति पढ्ने अवसर प्राप्त गरेको थिएँ । प्राध्यापक भानुभक्त पोख्रेलको बोध, शैली र अभिव्यक्ति, कृष्ण प्रसाद पराजुलीको राम्रो रचना मिठो नेपाली अनि राजेन्द्र विमलको व्याकरण र गाइड जस्तै मिलाएर लिखएको समालोचना । यी तीनजना व्यक्तित्वको प्रभावले ममा नेपाली साहित्य र व्याकरणप्रति नमेटिने चासो जगायो भने सुकुना क्याम्पस मोरङमा पनि नेपाली विषयका मेदिनी बराल गुरु र अंग्रेजी विषयका अमृत आचार्य सरको प्रभाव पनि ममा उत्तिकै परेको हो । आजसम्म पनि म अमृत सरले उच्चारण गर्नुभएका शब्दहरु सम्झन्छुः (opportunity) ओपटुनटी, (purchase) पचस, (increase/decrease) आदि जो नेपालीहरुले अक्सर गलत उच्चारण गर्छौं ।

फेरि डा. राजेन्द्र प्रसाद विमलसँगकै प्रसंगमा जाऔँ । विगतका तीतामिठा कुरालाई जितेर भविष्य निर्माणमा लाग्नुपर्छ भन्ने उहाँको जोड सर्वत्र देख्न सकिन्थ्यो । सम्मानित हुनुभएपछि उहाँले ठट्टा पनि गर्नुभएको थियोः म मधेशीको फोटो नआए पनि हुन्छ तर योग्य व्यक्तिको समाचार कभर गरिएको होस् । तर वास्तवमा उहाँमा विशाल सोच र फराकिलो मन छ । यतिसम्म कि कतिपय मधेशीले उहाँलाई पहाडीको पिछलग्गु अनि पहाडीलेचाहिँ मधेशी भनेर पिट्न खोज्दाको नमिठो अनभुव पनि उहाँसँग छ । हेर्नुहोस् ‘ऐंजेरु’ 1। तराई मधेशको आन्दोलन त्यहाँका पक्का बासिन्दाको भन्दा पनि सिमापारबाट प्रेरित हो भन्न उहाँ हिच्किचाउनुहुन्न ।
अँ, विगतलाई जितेर आगतको स्वागतका बिारेमा उहाँले लेखिनहाल्नुभएको तर हमाीलाई बताउनुभएको कथा यस्तो छः

एक पटक एक जना सिद्ध व्यक्ति टाढा देशमा जाँदैगर्दा एउटा स्थानमा एक अति जवान र सुन्दर युवक र युवतीको शालिक देखेछन् । त्यो शालिक पुरानो भएतापनि ती युवक र युवतीचाहिँ अहिल्यै दगुरेर जंगलतिर भागिहाल्लान्, मायाप्रिती गाँस्लान् जस्तै जीवन्त देखिन्थे । तिनीहरुरुको शालिकलाई चराचुरुंगीले बासस्थान बनाएका रहेछन्, र तिनीहरुको टाउकोका बिस्ट्याउने गर्दा रहेछन् । जे होस्, ती सिद्ध व्यक्तिलाई चाहिँ ती जोडी बनून, घरबार बसाऊन् र त्यो निर्जन भूमीमा आवाद गरून् भन्ने इच्छा भएछ । त्यसकारण तिनले ती शालिकलाई जीवन्त बनाई दिएछन्, र ल तिमीहरु जाओ, घरजम गर भनी पठाइदिएछन् ।

ती दुई युवक र युवती त्यति सुन्ने बित्तिकै दगुरेर गएछन् । तर तिनीहरुको त्यो चाला अलि अनौठो लागेर ती सिद्ध व्यक्ति पनि तिनीहरु दौडेर गएको दिशातर्फ गएछन् । अलि पर पुगेर हेर्दा त, ती दुवैले बेग्ला बेग्लै चराहरुहलाई समातेर, मेरो शरीरमा बास गर्ने, फोहोर बिस्टा गर्ने भन्दै हपार्दै पिट्दै रहेछन् । त्यो देखेर ती सिद्ध व्यक्ति चारोँ खाने चित भएछन्ः कहाँको सभ्यता र समाज विकास होला भन्ने आशा, कहाँको पहिलेका कुरा सम्झीसम्झी भएजत्ति चराचुरुंगीलाई लखेट्दै बदला लिनमै व्यस्त ती युवक र युवती !

टिप्पणीः आजको हाम्रो समाज पनि ती युवक र युवतीजस्तै बन्दैछ । उपलब्ध स्वतन्त्रता र अकिकारलाई सदुपयोग गर्दै अगि बढ्नुको सट्टा हामी विगतमा कसले आफूलाई, आफ्नो जातिलाई के अन्याय गरेको थियो भन्ने हिसा खोज्दै र त्यो हिसाब मिलान गर्नमै हामीले फेरि पनि आफूलाई पछि पारिराखेका छौँ । अन्याय अत्याचर नै भएको अवस्थामा पनि बदलाभन्दा क्षमा र सम्भवभएसम्म क्षतिपूर्तिको व्यवस्था गर्न सकिन्छ, गर्नुपर्छ । अमिलो अंगुर खाने बाबुआमा दाँत कुँडिने छोराछोरीको भन्ने जस्तो आहान अब बन्द हुनुपर्छ भन्ने ईश्वरवाणी आएकै आज २५०० वर्ष पुगिसकेको छ । ('The parents have eaten sour grapes, and the children's teeth are set on edge.' -Jeremiah 31:29)

हामी अबुझ नबनौँ । अगाडि कसरी बढ्न सकिन्छ, विचार गरौँ । चरा खेदेर बदला लिनतर्फ नलागौँ । फुटेर होइन जुटेर अगि बढौँ । समस्या कुन क्षेत्रले, तराई पहाडले, छेत्रीबाहुनले कसले कसलाई भन्दा पनि समस्या सबै क्षेत्रमा र सबै जातिमा छ । अशिक्षा, गरिबी, बेरोजगारी छ । आम निराशा, उद्धमशीलताको अभाव र उद्धम गर्नै चाहनेलाई पनि उचित सुरक्षाको अभाव छ । राजनीतिमा भ्रष्टाचर व्याप्त छ । राम्रालाई भन्दा हाम्रालाई रोज्ने प्रवृत्ति छ । अब यसको विकल्प, समाधान के त ? कसरी सम्पूर्ण नेपलीले एकै मनको भई, यस्ता विकृति र गरिबीको समाधान खोज्ने भन्ने आजको बल्दो खाँचो हो ।

Comments

Popular posts from this blog

कसरी बाइबलीय व्यावहारिक सहायता र आशा दिने

Catch The Little Foxes

The Speech of the Prime Minister of Israel Benjamin Netanyahu