ए लेभलको बढ्दो आकर्षण

ए लेभलको बढ्दो आकर्षण

- सुधीरकुमार झा

जेनरल सर्टिफिकेट अफ एजुकेसन (जीसीई) क्याम्ब्रिज इन्टरनेसनल एक्जामिनेसन (सीआई) बोर्डद्वारा सञ्चालन गरिएको हो । यो युनिभर्सिटी अफ क्याम्ब्रिजकै एउटा अंग हो । जीसीईले बितेका ५० वर्षदेखि विश्वका करिब १ सय ७० देशमा लगभग ७० विषयमा एडभान्स लेभल क्वालिफिकेसन (जसलाई ए लेभल क्वालिफिकेसन पनि भनिन्छ) प्रदान गर्दै आएको छ ।

नेपालबाट एसएलसी वा विश्वको कुनै पनि बोर्डबाट एसएलसी समकक्ष परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले ए लेभल क्वालिफिकेसनमा प्रवेश पाउन सक्छन् ।

विद्यार्थीले उपलब्ध गराइएकामध्ये अंग्रेजी भाषा साहित्यबाट एउटा र बाँकी विषयबाट आफूले चाहेका कम्तिमा तीनवटा विषय लिन पाउने प्रावधान छ ।

ए लेभलको पाठ्यक्रम दुई भागमा विभाजित छन् । एउटालाई एडभान्स सब्सिडिअरी (एएस) लेभल भनिन्छ । यसमा पहिलो आधा पाठ्यक्रम समावेश गरिएको हुन्छ । अर्काे आधालाई ए–टु सिलेवस भनिन्छ । यसले बाँकी आधा पाठ्यक्रम संँगालेको हुन्छ । विद्यार्थीले सम्पूर्ण ए लेभल क्वालिफिकेसन पाउन दुई वर्षमा दुई पटक परीक्षा दिन सक्छन् भने दुई वर्षको अन्तमा एकै पटक एउटै परीक्षा पनि दिन सक्छन्, साथसाथै मेधावी विद्यार्थीका लागि समयसीमा छैन । ए लेभल परीक्षा वर्षको दुईपटक मे/जुन र अक्टुवर/नोभेम्बरमा विश्वभर एकै पटक सञ्चालन गरिन्छ र नतिजा पनि एकसाथ प्रकाशन हुन्छ । परीक्षाहरू व्यवस्थित रूपमा लिइन्छ । ए लेभल क्वालिफिकेशनले सिर्जनात्मक सोचका साथै अन्य सीप पनि बढाउन मद्दत गर्छ । विद्यार्थीले कति जान्योभन्दा पनि कति बुझ्यो भन्नेलाई महत्व दिइन्छ र विश्लेषणात्मक पक्षलाई परीक्षामा बढी समावेश गरिन्छ । प्रश्नहरू ‘एक्टिभ’ हुन्छन् भने विद्यार्थीहरूको अभिव्यक्ति ‘अब्जेक्टिभ’ । यसमा वस्तुगत, लामा र छोटा उत्तर लेख्ने ढाँचाका प्रश्न समावेश गरेर विद्यार्थीको सम्पूर्ण मूल्यांकन गर्ने प्रयास गरिन्छ तसर्थ गहिराइसम्म पुगेर विषयवस्तुको अध्ययन गर्नुपर्छ ।

ए लेभल नेपालको प्रमाण–पत्र तह अर्थात् १०+२ सरहको पाठ्यक्रम हो । यो तह उत्तीर्ण गरेपछि विद्यार्थीले विश्वको कुनै पनि विश्वविद्यालयमा स्नातकस्तरको अध्ययनका लागि आवेदन दिन पाउँछन् । यसको अन्तर्राष्ट्रिय ख्यातिका कारण विद्यार्थीलाई विश्वको राम्रोभन्दा राम्रो कलेजमा भर्ना हुन वा छात्रवृत्ति पाउन सम्भव देखिन्छ ।

नयाँ पाठ्यक्रम तयार गर्दा एउटा लामो र स्तरीय प्रक्रिया अपनाइन्छ जसमा पूर्ण अनुसन्धान, तालिम र परामर्शजस्ता काम गरिन्छ । यसरी तयार पारिएको पाठ्यक्रम नमुना प्रश्नपत्र, शिक्षकहरूका लागि प्रत्यक्ष कार्यशाला गोष्ठीहरू, दूरसिकाइ पाठ्यक्रम, अनलाइन कार्यक्रम, छलफल समूह, सन्दर्भ पाठ्यपुस्तक तथा तोकिएका पाठ्यपुस्तकको सहायताले शिक्षकहरूसमक्ष पुर्‍याइन्छ । पाठ्यक्रम र प्रश्नपत्र अन्तर्राष्ट्रिय स्तरको हुन्छ, तसर्थ विश्वभरका विद्यार्थीलाई ध्यानमा राखेर पाठ्यक्रम बनाई अन्तराष्ट्रिय उदाहरणसँगै आ–आफ््नो देशको सन्र्दभमा पढाउन निर्देशन दिइन्छ । यो पाठ्यक्रम अत्यन्त लचिलो, गुणस्तरीय, वैज्ञानिक एवं व्यावहारिक मानिन्छ । पाठ्यक्रम बनाउँदा विद्यार्थीको सिर्जनशीलता र मौलिक पक्षलाई ध्यान दिइएको हुन्छ भने मूल्यांकन गर्दा बोध पक्षलाई । हरेक दुई–तीन वर्षमा पाठ्यक्रम परिमार्जित गरी समयसापेक्ष र अद्यावधिक गरेर विषयवस्तुलाई सान्दर्भिक एवं नियमित बनाउनु ए लेभलको अर्काे विशेषता हो ।

कक्षा क्रियाकलापहरू सेमिनार, छलफल, प्रयोगशाला विधि, समस्या समाधान, ग्रुपवर्क, प्रोजेक्ट वर्क, खोजबिन, प्रतिवेदन लेखन, प्रस्तुतीकरण, समसामयिक अध्ययनमा आधारित हुन्छन् । आस्क द एक्जामिनर, टिचर्स सपोर्ट साइटले शिक्षकहरूको स्तर बढाइरहेको हुन्छ भने वेभसाइट ब्राउज गरेर तथा सिडी कपी गरी विद्यार्थीले आफूलाई थप निखार्न सक्छन् ।

एडभान्स लेभल कोर्षलाई नेपालको सबै विश्वविद्यालयका साथसाथै विश्वका धेरै शैक्षिक संस्थाबाट मान्यता प्राप्त छ । त्रिभुवन विश्वविद्यालयले सीआईईले दिएको ग्रेड्स ए देखि ई लाई ९५ प्रतिशतदेखि ५५ प्रतिशतसम्मको समकक्षता निर्धारण गरेको छ । विद्यार्थीले आफ्नो ग्रेड सुधार्न पुन: परीक्षामा बस्न पाउने प्रावधान पनि छ । विद्यार्थीहरूको हौसला बढाउन युनिभर्सिटी अफ क्याम्ब्रिज, ब्रिटिस काउन्सिल तथा क्याब्रिज एजुकेटर्स एशोसिएसन इन नेपालले हरेक वर्ष पुरस्कार वितरण समारोहको आयोजना गर्दै आएका छन् ।

नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको यो शिक्षा पढेर विश्वका विभिन्न मुलुकमा गएर अध्ययन गरी सक्षम जनशक्तिले पुन: स्वदेशमै फर्केर सेवा गर्ने हो भने यो भन्दा सुनौलो अवसर हाम्रो जस्तो मुलुकलाई अरु हुन सक्दैन । सम्भवत: त्यसैले हरेक वर्ष ए लेभलका विद्यार्थी संख्या बढ्दो क्रममा छ ।

(लेखक चेल्सी इन्टरनेसनल एकेडेमी एवं क्याम्ब्रिज जीसीई कलेजका प्राचार्य/ संस्थापक निर्देशक तथा क्याम्ब्रिज एजुकेटर्स एसोसिएसन इन नेपालका अध्यक्ष हुन् । )
S: K Saptahik

Comments

Popular posts from this blog

Experimental Religion

The identity of the church

The Hope of This World