१४ वर्षदेखि टाउकोमा गोली
१४ वर्षदेखि टाउकोमा गोली
नारायणपुरका कृष्णराज योगी ((किरण) १४ वर्षदेखि टाउकोमा गोली बोकेर बाँचिरहेका छन्। २०६० सालमा विद्यालयमा पढाउँदै गर्दा माओवादी कार्यकर्ताले अपहरण गरी जंगलमा लगेर योगीलाई गोली हानेका थिए। प्रावि तहका शिक्षक उनी त्यस बेला बर्दियाको ढोडरी स्थित माविमा अध्यापन गर्थे।
त्यस बेला लागेको गोली अहिलेसम्म निकाल्न नसकेको पीडा उनी सुनाउँछन्। गोली अस्थिर रहेकाले निकाल्नका लागि अप्रेसन हुन सकेको छैन । टाउकोमा गोलीका कारण शरीर पूरै शिथिल भएको छ। शरीरमा पक्षघातसमेत भएको छ।
‘टाउकोमा गोली हानेपछि मर्यो भन्ठानेर फालिएको मान्छे हुँ म', उनी भन्छन्, ‘माओवादी कार्यकर्ताले मलाई बिनाकारण गोली हाने। बल्लतल्ल बाँचेर अहिले अपांग जीवन बिताइरहेको छु। टाउकोबाट गोली निकाल्न सकेको छैन।'
उपचार गरेर विद्यालयमा फर्किंदा ०६४ सालमा बर्दियाका तत्कालीन प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहालले जागिरबाट हटाएको सूचना दिए। १८ वर्ष शिक्षक भएर राज्यको सेवा गरे पनि जागिरबाट निकालिनुुपरेकोमा उनी अझै आक्रोशित छन्। जागिरबाट किन हटाइयो भनेर अहिलेसम्म पनि जवाफ पाउन नसकेको उनको भनाइ छ।
‘राज्य र विद्रोही दुवै पक्षबाट पीडित शिक्षक हुँ म', उनी भन्छन्, ‘राज्यले खाइपाइ आएको मेरो जागिर खोस्यो, विद्रोहीले जीवनभर टाउकामा गोली राखेर दुःख दिए। अपांग बनाए। गोली हान्नेहरू सत्तामा पुगे, राज्यका लागि सेवा गर्ने म बेडमा छु। न्याय खोज्न कता जाऊँ? '
राज्यले गैरनागरिक भएजस्तो व्यवहार आफूमाथि गरेको उनको दुखेसो छ। ‘त्यति बेला सीडीओ नरेन्द्र दाहाल हुनुहुन्थ्यो, उहाँसहित प्रधानमन्त्रीसम्म भेटेर ज्ञापनपत्र बुझाएँ', उनी भन्छन्, ‘जागिरबाट हट्नुपर्नाको कारण सोधें, अहिलेसम्म जवाफ पाउन सकेको छैन। मलाई राहत र उपचार केही चाहिएको छैन, पढाउँदा–पढाउँदै टाउकोमा गोली खाने म निर्दोष शिक्षकलाई किन जागिरबाट हटाइयो? जानकारी मात्र पाऊँ।'
उनका अनुसार बिनाकारण टाउकोमा गोली हान्नेहरूमाथि अहिलेसम्म कानुनी कारबाही भएको छैन। दोषीहरू खुलेआम हिँडिरहे पनि कारबाहीका दायरामा नआउँदा आफूलाई झन् पीडा भएको उनी सुनाउँछन्। उनी गोली लागेपछि २३ दिनसम्म बेहोस भएका थिए। भारतमा उनको उपचार भएको थियो।
- गोपाल शर्मा, मंगलवार, भदौ २७, २०७४, Annapurnapost
Comments
Post a Comment